
२५ जेठ, सउल । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना नागरिकलाई विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका छन् ।
बिबिसीका अनुसार केही दिनअघि लागु भएको कानुनअनुसार कोही व्यक्ति ठूलो मात्रामा उत्तर कोरियाली जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सिडी, भिसिडीसहित भेटिए मृत्युदण्ड हुनेछ भने कोही त्यस्ता फिल्म हेर्दाहेर्दै पक्राउ परे १५ वर्षसम्म जेल सजाय हुनेछ । प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि उनको सरकारले यस्तो कानुन ल्याएको बताएको छ ।
केही दिनअघि उनले सरकारी सञ्चारमाध्यमहरूलाई पत्र लेख्दै युथ लिगले युवाहरूको व्यक्तिवादी र असामाजिक व्यवहारमाथि धावा बोल्नुपर्ने उल्लेख गरेका थिए । उनले विदेशी हेयर स्टाइल, बोली र कपडालाई पनि खतरनाक विषको संज्ञा दिँदै तिनलाई रोक्नु पर्ने बताएका छन् ।
दक्षिण कोरियाको डेली एनके अनलाइन पोर्टलले स्रोतलाई उद्धृत गर्दै केही दिनअघि तीन जना किशोरलाई उत्तर कोरियाका अधिकारीहरूले रि-एजुकेशन क्याम्पमा पठाएका छन् । उनीहरूले के-पपका कलाकारको जस्तो कपाल काटेको आरोप छ । उत्तर कोरियासम्बन्धी विश्लेषकहरूले देशभित्र आर्थिक संकट गहिरिँदै गएर परिस्थिति कठिन बन्दै गइरहेका बेला उनले आफ्ना नागरिकलाई विदेशी प्रभाव रोक्न यस्तो कानुन ल्याएको बताएका छन् ।
नयाँ कानुनले कुनै कम्पनीमा काम गर्ने कामदारले गल्ती गरे मालिकका पनि कारबाही गर्ने र किशोरकिशोरी बिग्रिए उनीहरूका बुवाआमालाई पनि समात्ने व्यवस्था गरेको बताइएको छ । पछिल्लो समय कोरोनाभाइरसको महामारीले उत्तरसँग बाँकी विश्वको सम्बन्ध झन् टुटेको छ । अहिले उत्तर कोरियामा लाखौं मानिस भोकमरीमा परेको अनुमान गरिन्छ । स्रोत: बिबिसी