
२६ जेठ, रौतहट । रौतटहमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल, तरकारीका पसलहरु हप्ताको ४ दिन (आइतवार, मंगलवार, बिहीवार र शुक्रवार मात्र सञ्चालन गर्न पाइने जनाइएको त्यस्तै होटल तथा रेस्टुरेन्टहरुले होम डेलभरीमार्फत मात्र व्यवसाय सञ्चालन गर्न पाउने जनाइएको छ । अत्यावश्यक सूचीमा रहेका एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीलाई भने सञ्चालन गर्न अनुमति दिइनेछ ।
त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाक सेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । जीमखाना, पार्लर, शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिईएको यादवले बताए । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा बाहेकका काम कार्यालयले आलोपालो गरी सुचारु गर्ने भनिएको छ । विवाहमा बढीमा १५ जना जन्ती जान पाइने र दुईवटा गाडी प्रयोग गर्न पाइनेछ ।