
२७ जेठ, काठमाडौं । बीमा कम्पनीका संस्थागत अभिकर्ताले छुट्टै अनुमति लिनुपर्ने भएको छ । संस्थागत अभिकर्ता भएर काम गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्था लगायतले अलग्गै इजाजत लिनुपर्ने व्यवस्था बीमा समितिले गरेको छ ।
लाइसेन्स लिनका लागि अभिकर्ता बन्न चाहने संस्थाले प्रबन्धपत्र, नियमावली वा विधानमै कुन प्रकारको अभिकर्ता बनेर काम गर्ने भन्ने खुलाउनुपर्ने बीमा समितिले जारी गरेको ‘संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका’ मा व्यवस्था गरिएको छ ।
अभिकर्ता बन्न चाहने कम्पनी वा संस्थाका प्रबन्धकमध्ये कम्तीमा एकजनाले बीमा अभिकर्ता सम्बन्धी तालिम लिएको हुनुपर्ने र कम्तीमा एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । संस्थागत अभिकर्ताको इजाजतका लागि कागजी प्रक्रिया लम्ब्याइएको छ ।
अभिकर्ताले बिमितलाई भ्रममा पार्न, करकाप गर्न, अभिकर्ता कमिसनमा प्राप्त हुने रकम दिन वा दिने आश्वासन बाँड्न पनि रोक लगाएको छ । अभिकर्ताले अन्डरराइटिङसम्बन्धी काम गर्न र बिमा कम्पनीको तलबी कर्मचारी, परामर्शदाता, सर्भेयर, सल्लाहकार वा लेखापरीक्षक भएर काम गर्न नपाइने व्यवस्था निर्देशिकामा गरिएको छ ।