२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामासमेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन्। हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ।
यसमा सिन्धुपाल्चोककै उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिने बताइन्छ । प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिएको जनाइएको छ ।
राजधानीवासीको लामो समयअघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गतेदेखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो । अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आए/नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने बताइएकोे छ ।
मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र पूरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ । त्यस अवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचनाअनुसार पानी वितरण गरिने मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ।