
३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रोकिएको कोरोना विरुद्धको खोप अभियान भोलिदेखि सुरु हुने भएको छ ।
६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको (भेरोसेल खोप) काठमाडौं महानगरपालिकाले रोकेको खोप पुनः सुचारू गर्ने भएको छ । यसअघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिए पनि २८ गतदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो ।
महानगरका कोभिड फोकस पर्सन ज्ञानबहादुर ओलीका अनुसार अब छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई वडा कार्यालयका खोप केन्द्रमा नभई अस्पतालहरुमा खोप लगाइनेछ । ‘‘वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने कार्यक्रम राखेका छौँ । १० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिनेछ,” ओलीले भने, ‘‘खोप लगाउने मितिबारे सूचना निकाल्न लागेका छौँ ।” यसअघि, पाँच दिनसम्मका लागि तोकिएको खोप कार्यक्रम तीन दिनमा नै स्थगित गरिएको थियो ।