मुख्य समाचार

इजरायलमा अन्त्य भयो नेतन्याहूको १२ वर्षे शासन

Israel

३१ जेठ, काठमाडौं । दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेन्यामिन नेतन्याहूलाई सत्ताबाट हटाएका छन् ।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उनी सत्ताबाट बाहिरिएका हुन् । उनलाई हटाउँदै विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा भएको मतदानमा बेनेटको पक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत आएको थियो । विपक्षीहरूबीच आफूलाई हटाउने सहमति भएलगत्तै सत्ता जोगाउन हरसम्भव प्रयास गरेका ७१ वर्षीय नेतन्याहूले आफू अरूले सोचेभन्दा छिटो सत्तामा फर्किने बताएका छन् । नेतन्याहू सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एक युगको अन्त्य भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै आफ्नो सरकार इजरायलको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताएका छन् । विपक्षीहरूबीच भएको सहमतिअनुसार दुई वर्षपछि बेनेटले सत्ता छोड्नेछन् र याइर लापिड प्रधानमन्त्री बन्ने छन् । उनीहरूको गठबन्धनमा अन्य साना तथा मझौला दलहरू पनि सहभागी छन् । पहिलो पटक इजरायलका अरब अल्पसंख्यको पार्टी युनाइटेड अरब लिस्ट पनि सरकारमा सहभागी हुनेछ ।

मार्च २३ मा भएको पछिल्लो निर्वाचनको परिणामअनुसार १२० सदस्यीय इजरायलको संसद कुनेसटमा नेतन्याहुको लिकुड पार्टीको ३० सिट छ । उनले अरू तीन वटा धार्मिक र राष्ट्रवादी पार्टीहरूसँग गठबन्धन गरेका छन् । अहिले प्रधानमन्त्री बनेका ४९ वर्षीय बेनेटको पार्टीले उक्त चुनावमा ६ सिटमात्र जितेको थियो । १२ वर्ष सत्तामा रहँदा प्रधानमन्त्री नेतन्याहूमाथि विभिन्न आरोप लागेका छन् । उनी यस्ता प्रधानमन्त्री हुन् जसको भ्रष्टाचार मुद्दामा अनुसन्धान पनि भइरहेको थियो र उनी प्रधानमन्त्रीको कुर्सीमा पनि कायम थिए ।

पछिल्लो समय उनलाई बाह्य समस्या पनि थपिएका थियो । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि नेतन्याहूलाई प्यालेस्टाइन र इरानसँगको सम्बन्ध डोनाल्ड ट्रम्पको पालामा जसरी  कायम राख्न असम्भव देखिएको थियो । ट्रम्पले नेतन्याहूलाई धेरै नै सहयोग गरेका थिए भने बाइडेनले त्यसो नगर्ने देखिएको थियो । केही दिनअघि इजरायलले गाजामा गरेको रकेट आक्रमणको विषयमा पनि अन्तर्राष्ट्रिय स्तरमा नेतन्याहूको आलोचना भइरहेको थियो । विपक्षी गठबन्धनको सरकार बनेपछि नेतन्याहूका आलोचकहरूमा खुसीयाली छाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस