३१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ ।
खनालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । आज बिहान खनाललाई अस्पताल लगिएको थियो । अस्पतालले दिएको जानकारीअनुसार खनाललाई विगत ९ दिनदेखि ज्वरो आएको थियो ।
‘ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उहाँ नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनु भएको थियो,’ अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको अस्पतालले जनाएको छ ।