समाचार

इरानमा राष्ट्रपतिका लागि मतदान शुरु, कट्टरपन्थी उम्मेदवारले जित्ने सम्भावना

iran election

४ असार, इरान । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान शुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ ।

इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गर्नु भएकाले उनी नै विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् । केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उम्मेदवार मानिएको छ ।

राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उनी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनेछन् । राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।

मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका छन् । सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् । उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका छन् । राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरेका छन् । उनले पनि इरानका सबै योग्य नागरिकलाई मतदानमा भाग लिन आग्रह गरे । राइसीको उम्मेदवारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टी जनाएका छन् ।

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ ।  यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ । –एपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *