समाचार

मनाङका ११८ बाढी–पहिरोपीडितको उद्धार

flood at mustang

४ असार, मनाङ । अविरल वर्षापछि आएको बाढी–पहिरोपीडितको उद्धार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रबार (आज) मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्धार गरिएको छ ।

दुईवटा हेलिकोप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेका अनुसार नार्पाभूमि गाउँपालिकाको फूगाउँबाट ५६ जना, नासो गाउँपालिकाबाट ५५ र ओडारबाट १० जनाको उद्धार गरिएको छ । नासोका बाढी–पहिरोपीडितलाई मनाङको सदरमुकाम चामेमा स्थानान्तरण गरिएको उनले बताए ।

फूगाउँका १६ जनालाई दानाक्युमा व्यवस्थापन गरिएको छ भने अन्य पीडितलाई फूगाउँकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । मनाङका विभिन्न क्षेत्रका बाढी–पहिरोपीडितलाई चामेमा व्यवस्थापन कार्य भइरहेको लामिछानेले बताए ।

मनाङका चार गाउँपालिकाका विभिन्न गाउँ वा स्थानीय पालिकाबीचको सम्पर्क र आवतजावत पूर्ण रुपमा अवरुद्ध छ । ‘‘अन्य क्षेत्रमा पनि बाढी–पहिरोमा परेका पीडितको उद्धार गर्ने कार्य भइरहेको छ । कहीँ कतै सम्पर्कमा नआएका छन् कि भनेर हेलिकोप्टरबाट खोजी कार्य भइरहेको छ,’’ प्रजिअ लामिछानेले भने ।

गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको एउटा हेलिकोप्टर र पूर्वसांसद पोल्देन छोपाङको व्यक्तिगत खर्चमा अर्को हेलिकोप्टर उद्धारमा खटिएको छ । केही दिनको अविरल वर्षापछि आएको बाढी–पहिरोले गर्दा मनाङमा सडक, विद्युत् र सञ्चार पूर्ण रुपमा अरुवद्ध भएको छ । यहाँका साना खोलानाला समेत वर्षासँगै बढेको भेलले सडक धेरै ठाउँमा भत्किएको छ ।

बाढी–पहिरोले गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरुबीच सम्पर्क हुन नसकेको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा विभिन्न क्षेत्रमा खानेपानी, सडक, विद्युत् र सञ्चार हुनसकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस