
५ असार, भक्तपुर । भक्तपुरमा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा एउटा बालकको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षे छोरा रोजनको शव भेटिएको हो ।
शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ । शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए ।