५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षले ‘कीर्ते गरेको पत्र’ निर्वाचन आयोगमा बुझाएको आरोप लगाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै बाबुराम-उपेन्द्र पक्षले यस्तो आरोप लगाएको हो ।
जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बेठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए । यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् ।
‘जनता समाजवादी पार्टीको मिति २०७७/०९/०७ को बैठकबाट ‘बैठकबाट भएको निर्णय कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ महन्थ ठाकुरलाई दिइएको लगायतका निर्णयहरु भएको भन्ने निर्वाचन आयोगमा बुझाइएको भनिएको तथा समाचार माध्यममा सम्प्रेषण भएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको सम्पूर्ण निर्णयहरु सोही दिन नै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरी सकिएको जनाएको छ ।
‘उक्त दिनको सम्पूर्ण निर्णयहरु कार्यकारिणी सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेश समिति, जिल्ला समिति लगायत सम्पूर्ण भ्रातृ संगठनहरुलाई समेत संयुक्त हस्ताक्षरद्वारा निर्णयको रुपमा परिपत्रसमेत जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नै थिएन र त्यस्तो कुनै निर्णय भएको पनि छैन । यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी २०७८ ।०३/१ गते झुठा विवरण लेखी कीर्ते, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् ।’