समाचार

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

bheri hospital

६ असार, बाँके । कोरोनाभाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् ।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जना मात्रै रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्ट्याइएका शय्या खाली हुँदै गएका छन् ।

बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना–ठूला चार अस्पतालले कोभिडकक्षका लागि छुट्ट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् ।

नेपालगन्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ । भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्ट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए ।

वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्ट्याइएकामा सबै खाली भएको छ । बाँकेमा कोरोनाभाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस