
८ असार, काठमाडौं । नर्भिकका उपचाररत मोडल तथा तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।
उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ । हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।
अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन् । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन् । उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन् । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ’, उपचार संलग्न चिकित्सहरु भन्छन्, ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ ।’
उनले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ । डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ ।
‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’, डा. जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’
निशाको अवस्थालाई ‘जनरल कण्डिसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न डा.जलानको भनाई रहेको छ । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी निशा घिमिरेको उद्धार गर्नु अघिको अवस्था निकै दर्दनाक थियो । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत २७ गते उनको उद्धार गरेर अस्पतालको विशेष उपचार कक्षमा राखेर उपचार सुरु गराएकी हुन् ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समय सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी निशा उपचारका लागि पैसाको अभावमा घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् ।