
८ असार, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल तथा पर्यटन व्यवसायीहरुलाई सरकारले दिएको सेवा सुविधाको भरपुर उपभोग गर्न आग्रह गरेका छन् । मंगलबार होटल तथा पर्यटन क्षेत्रको यावत् समस्या बोकेर अर्थमन्त्री भेट्न गएका होटल संघ नेपाल (हान) को सुझाव पत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।
सो अवसरमा उनले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन व्यवसायीहरुलाई आग्रह गरे । बजेटमार्फत होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराइएको उल्लेख गर्दै मन्त्री पौडेलले कोभिड–१९ का बेला योभन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको समेत धारणा व्यक्त गरे ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने, कोभिड -१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नु पर्ने इजाजत तथा निवकरण दस्तुर छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ ।
होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड-१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार रकम उपलब्ध गराउनेलगायत सुविधा दिइएको छ ।
उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामुलक उद्योगमा राख्नु महत्वपूर्ण विषय भएको बताइन् । होटल संघ नेपालले २०७८/७९ को मौदि्रक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नु पर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनु पर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनु पर्ने लगायतसुझाव दिएको छ ।