-विजय रावत
१० असार, जुम्ला । निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती भएको छ । गर्मी छल्न पाटन उक्लेका गोठालाहरू निरन्तरको वर्षाले समस्यामा परेका हुन् । भेडाको बथानसँगै पाटन र खर्कहरूमा बसेका गोठालाहरू अहिले विचल्लीमा छन् । एक सातादेखि निरन्तर पानी पर्दा गोठालालाई भेडाबाख्रा चरन क्षेत्रमा लैजान मुस्किल परेको छ । भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको गोठमा बसिरहेका ती गोठालालाई एकातिर चट्याङको र अर्कोतिर भेडाबाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ । पाटनमा भरपर्दा गोठहरु नै छैनन् । आफैले बनाएका गोठहरू हावाहुरीले उडाउने खतरा हुन्छ ।
यहाँको तातोपानी गाउँपालिका– ७ सर्मीका गोठाला कृष्ण खड्काका अनुसार गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङको शिकार भए । “कम्तीमा राज्यस्तरबाट पाटन र खर्कहरूमा व्यवस्थित गोठ निर्माण भएको भए ढुक्क सँग बस्न सकिन्थ्यो, २०७२ सालमा पनि १० दिन निरन्तर वर्षा हुँदा हजारौं भेडा मरेका थिए”, उनको भनाइ थियो ।
घुमन्ते जीवन बिताउने भेडीगोठालाहरु चरण क्षेत्रमा घाँस सकिएपछि गोठ सार्छन् । अहिले सबै गोठ पाटन उक्लिएका छन् । पाटनको चार महिने बसाइपछि वेसी झारिन्छ । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा भेडीगोठहरु छन् । जुम्लामा भेडा पालनलाई पुख्र्यौली पेसाका रुपमा हेरिन्छ । “भेडाबाख्रा बिरामी पर्दा समयमै औषधि पाउँदैनौँ, पाटनमा बस्न व्यवस्थित गोठ छैनन्, कृषि र पशुपालनका क्षेत्रमा आउने बजेट कहाँ चुहावट हुन्छ, पत्तो हुँदैन” अर्का भेडी गोठाला जय बहादुर रावतले दुःखेसो पोख्नुभयो ।
जुम्लामा ७४ हजार हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । “आम्दानी राम्रो छ, भेडाको सङ्ख्या बढिरहेको छ”, कार्यालय प्रमुख महतले भने । चर्को घाममा हिमाली क्षेत्रको शीतल हावा र चिसो पानीले भेडा स्वस्थ्य र पुष्ट हुने उनको दावी छ । कर्णाली प्रदेशले यो वर्षदेखि ५० बढी भेडाबाख्रा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठालाहरू खुसी भएका छन् । अब तिनै तहका सरकारले पाटन र खर्कहरूमा व्यवस्थित गोठ निर्माण गर्नुपर्ने भेडीगोठालाहरुको माग छ । भेडा हिउँदमा बेँसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुईसिले लेकसम्म भेडाबाख्रा चराउन लगिन्छ ।
भेडाको दूध, मकैको आँटो, ढिडो, जङ्गलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडी पाखी ओड्ने, ओछ्याउने गरिन्छ । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नुपर्ने भएकाले गोठ व्यवस्थित नहुने कार्यालय प्रमुख महतको भनाइ छ ।