कर्णाली प्रदेश

सुर्खेतबाट बसाइँ सरेर सल्यान पुगे राउटे

raute basti

११ असार, सुर्खेत । फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाई सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यानको कालिमाटी गाउँपालिका–५ काल्चे डाँडामा पुगेका छन् ।

गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मंगलबार सुर्खेतबाट सल्यानको कालिमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताइन् ।

१० वर्षपछि राउटेहरू पुनः सल्यानमा पुगेका छन् । ४६ घरधुरीमा गरी राउटेहरूको संख्या १४३ छ । आफ्नो समुदायका सदस्यको मृत्यु हुँदा बसाई सर्ने प्रचलन भए पनि राउटेहरू यसपटक गुर्भाकोट भेरी किनारमा गर्मी बढेपछि सल्यानतर्फ लागेको प्रतिष्ठानका अध्यक्ष अधिकारीले बताइन् । अछाम, दैलेख, सुर्खेतका विभिन्न जंगल क्षेत्र हुँदै उनीहरू सल्यान सरेका हुन् ।

गुर्भाकोट नगरपालिकामा रहँदा यही जेठ २१ गते दुई राउटे युवतीमाथि यौनजन्य हिंसाको घटना सार्वजनिक भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न तीन युवालाई जबरजस्ती करणी र साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

पहाडी जंगलमा फिरन्ते जीवनशैली बिताउने राउटे समुदाय नेपालकै लोपोन्मुख आदिवासीमा पर्दछ । सरकारले यस जातिको सुरक्षाका लागि प्रतिव्यक्ति मासिक तीन हजार रूपैयाँ प्रदान गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस