१५ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सम्पादकहरूसँग छलफल गरेका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाएका हुन् ।
छलफलमा सभामुखले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् । यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी ओलीसँग लामो छलफल गरेको पनि उनले जानकारी दिए ।
आफूले नागरिकता विधेयकको बारेमा पनि कुरा राखेको तर प्रधानमन्त्री ओलीले ध्यानाकर्षण भएको छ भनेर जवाफ दिएको उनले सुनाए । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए ।