समाचार

सरकारविरुद्ध चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढिन्छ : प्रदीप ज्ञवाली

pradip

१५ असार, काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रव्यूह तोडेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाइँ विशेष कार्यक्रममा बोल्दै उनले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको जानकारी दिए ।

पूर्वमन्त्री ज्ञवालीले यो खेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रैमा सिमित नभएको दाबी गर्दै भने, “सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाईँ मात्रै हो भन्ने बुझ्नु हुँदैन, मुलुकमा अहिलेसम्म भएका उपलब्धिलाई सिध्याउने षड्यन्त्र पनि हो ।” जब एमाले विकासको लहर लिएर आउँछ, तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र हुने गर्छ भन्दै उनले एमालेलाई सिध्याउने २०५० सालदेखिको षड्यन्त्र असफल हुँदै आएको बताए ।

“एमाले जुर्मुराएको बेला २०५० सालमा जननेता मदन भण्डारीको हत्या भयो, अब एमाले सिद्धियो भन्ठानेका थिए, तर एमाले धूलो टक्टक्याएर उठ्यो, २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अनेकौं दाउपेच भयो, अब एमाले ढल्यो भन्नेहरुका अगाडि एमाले फेरी ब्यूँझिएर अगाडि बढ्यो,” नेता ज्ञवालीले भने,“यही क्रममा २०५४ सालमा एमाले फुट्यो, राजा र माओवादीका अतिवादलाई पनि हाम्रो पार्टीले असफल तुल्याएको हो ।”

कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था थिए भन्दै उनले भने, “आफ्नै घरबाट मान्छेको अपहरण र हत्या गरिँदा समेत सुरक्षा निकायमा गएर उजुरी गर्ने आँट थिएन, चन्दाको मागे डरले आफैँ पोको पारेर चन्दा बुझाउन जान्थे, चन्दा मागेन भने ब्ल्याक लिस्टमा पो परेकी भनेर डराउँथे, त्यस्तो  डरलाग्दो हिंसाको अवस्थालाई शान्तिपूर्ण माध्यमबाट हिंसाको अन्त्य गरियो, गुमेको नेपाली भूभागलाई नक्सामा समेट्ने काम गरियो, भूमि फिर्ता ल्याउन पहल गरिरहेको छ, देशको परराष्ट्र नीतिलाई सुधार गर्दै गरी समृद्ध नेपालको यात्रा थालनी भएको छ ।”

उनले संविधान बनाउँदा भएको विदेशी हस्तक्षेप तथा नाकाबन्दीको सामना गर्दै, जातजाति, धर्म, लिङ्ग, मधेश पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उनले अब युवा अगाडि बढ्नुपर्ने बताए । सरकारले विभिन्न ठुला सिंचाई आयोजना सञ्चालन गरेको, कृषिलाई आधुनिकीकरण र प्रविधियुक्त बनाउँदै लगेको, मलको हाहाकार हुन नदिन आफ्नै देशमा रासायनिक मल उत्पादन गर्न लागेको भन्दै उनले देशलाई कृषिमा आत्मनिर्भर बनाएर खाद्यान्न निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन लागिरहेको बताए​ । कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले सरकारले देशको व्यापार घाटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको र विद्यार्थी, महिला, दलित, जनजातिलाई रोजगारी र उद्यमशीलता दिँदै क्रमशः आत्मनिर्भर बनाएको बताए ।

प्रधानमन्त्री ओली राष्ट्रनायक भएको उल्लेख गर्दै उनले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको जानकारी दिए । कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन वृद्धिमा युवा लागेको जनाए ।

कलाकारको धान रोपाइँ

कार्यक्रममा नेपाली सिने क्षेत्रदेखि लोकगीत संगीतमा लाग्नेको बाक्लै उपस्थिति थियो तर नाम चलेका अधिकांश कलाकारले धान रोपेको अभिनय गर्दै फोटो खिचाएका थिए । धान दिवसको अवसरमा रोपाइँ कार्यक्रममा सहभागी हुने कलाकारहरु दीपाश्री निरौला, स्वस्तिमा खड्का, सुरविन बान्तवा खेतमा पुगेका थिए।

इन्द्रेणी साँस्कृतिक समूहले भने धान रोपाइँमा रमाइलो गराएको थियो । इन्द्रेणी साँस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलसहित छत्र शाही, कल्पना दाहाललगायतका लोक दोहोरीका कलाकारले गीत गाउँदै रमाउँदै धान रोपाइँमा सहभागिता जनाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *