
१६ असार, काठमाडौं । यात्रुसँग बढी भाडा असुल गरेको भन्दै बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले आठजनालाई पक्राउ गरेको छ । काठमाडौंबाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहामगर, दाङका ३५ वर्षीय सन्तोष दमाई, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।
यस्तै, काठमाडौंबाट बा१६च २१८४ नम्बरको प्राइभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षे राकेश रसाइ्ली पक्राउ परेका छन् । रसाइलीले प्रतियात्रुसँग तीन हजार रूपैयाँका दरले भाडा लिएका थिए ।
महाशाखाका अनुसार चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रतिव्यक्ति पाँच हजारसम्म भाडा लिने २५ वर्षका झनकबहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना१ज ७०२९ नम्बरको टाटासुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।