१६ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको आफ्नो जन्मदिनलाई उत्सवको रूपमा नमनाउने बताएका छन् । बुधबार एक विज्ञप्तिमार्फत कोरोना संक्रमण र बाढी पहिरोले जनतामा परेको पीडाका कारण आफूले असार २३ गतेको जन्मदिनलाई उत्सवको रूपमा नमाउने निर्णय गरेको जनाएका हुन् ।
“जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौँ,” विज्ञप्तिमा भनिएको छ । राजनीति, राज्य प्रणाली सङ्कट र अन्यौलको अवस्थामा रहेकाले जनताको मन अशान्त रहेको उनको ठम्याइ छ ।
“राजनीति, राज्य प्रणाली एवम् राजकाजको प्रवन्ध र व्यवस्थापन सङ्क्रमण, सङ्कट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ । आफ्ना मल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसैगरी देशमा बर्सादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ– जनजीवन दुःखद छ,” विज्ञप्तिमा भनिएको छ ।