मुख्य समाचार

यातायात व्यवसायी भन्छन्–‘२१ गतेसम्म सरकारकाे निर्णय कुर्छाैँ’

yatayat meeting

१७ असार, काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासङ्घ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनले २१ गतेसम्म सरकारको निर्णयलाई कुर्ने भएका छन् । काठमाडौं जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो ।

असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतःस्फूर्त रूपमा असार १८ गतेदेखि देशव्यापी रूपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहतका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय मागेका थिए । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरू तत्कालका लागि १८ गते देखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले भने “जिल्ला प्रशासन कार्यालयले केही समय मागेकाले । सिडिओले मातहतका निकायसँग छलफल गरेर निर्णय गर्छौँ भने पछि २१ गते सम्म पर्खिन सहमत भएका हौँ ।”

अखिल नेपाल यातायात मजदुर सङ्घको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले छलफलमा २१ गते सम्म सरकारी निर्णयलाई पर्खिने सहमति भएको जानकारी दिए । २१ गते पनि आफूहरूको पक्षमा निर्णय नभए २२ गते देखि सबै सवारीसाधन सञ्चालन गर्ने बताए ।

उनले भने, “सिडिओ साहेबले हामीलाई आश्वासन दिनुभएको छ । २१ गतेसम्म निषेधाज्ञाको समय छ । लामो रुटको यातायात खोल्ने कुरामा सीसीएमसीको कुरा छ । अन्य जिल्लाहरूसँगको सहकार्यको कुरा छ । तपाईँहरू पनि सीसीएमसी र मन्त्रालयमा कुरा राख्नुहोस् र २२ गते देखि हामी निर्णय गर्छौ भन्नुभएको छ । त्यो आश्वासन व्यवहारमा लागु गर्नुभएन भने हामी २२ गते बाट पूर्ण रूपमा सवारीसाधनहरू सञ्चालन गर्छौँ । त्यसपछि समस्या आइपर्‍यो भने त्यसको जिम्मेवार सरकार नै हुन्छ ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको बिहीबार ६३ दिन पुगिसकेको छ ।  २५ सिटभन्दा कम क्षमता भएका सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा तीनमा कार्यरत मजदुरले आफूहरूको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिट भन्दा धेरै सिट क्षमताका सवारी साधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गर्दै आएका छन् । उनीहरूले भोलि १८ गते देखि सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *