समाचार

दाङमा चोरीका १३ मोटरसाइकलसहित आठजना समातिए

pakrau

१८ असार, दाङ । दाङमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका आठजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । दाङबाट चोरी गरी रोल्पा र प्युठान पुर्‍याइएका विभिन्न कम्पनीका १३ वटा मोटरसाइकलसहित उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा एकजना भारतीय नागरिक, रोल्पाका पाँच, दाङ र प्युठानका एक/एकजना रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भारतको बलरामपुर, तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक, दाङको घोराही उपमहानगरपालिका–१९ का १९ वर्षीय जाबेद खान, प्युठानको स्वर्गद्वारी नगरपालिका–३, जलुकेका २४ वर्षीय ठगिराम थापालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–३, सुलिचौरका २८ वर्षीय श्रीजात अन्सारी, लुंग्री गाउँपालिका–४, नम्जाका २६ वर्षीय लेखनाथ विष्ट, लुंग्री–५, बडाचौरका २५ वर्षीय टेकेन्द्र बिष्ट, लुंग्री–६, गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री र २२ वर्षीय हिराबहादुर बिष्ट पक्राउ परेका छन् । पक्राउ परेका अन्सारी ग्लोबल बजाज सर्भिस सेन्टर सुलिचौरका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको डीएसपी रिजालले बताए ।

त्यसैगरी, प्युठानको जलुकेस्थित थापा अटो पार्ट्सका सञ्चालक थापाले चोरीका मोटरसाइकल खरिद गर्ने र बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीमा दैनिक मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरी सहायक निरीक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस