
१९ असार, काठमाडौं । एकल दलको संवैधानिक व्यवस्थाअनुसार शपथ लिएर दुईदलीय सरकारको नेतृत्व गर्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । शुक्रबार जसपाका चार मन्त्रीमध्येकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएपछि एकल र दुई दल दुवैबाट उनी दोस्रोपटक अल्पमतमा परेका हुन् ।
जसपाका चार जना प्रदेश सभा सदस्यको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन सफल भएका थिए । तर, शुक्रबार पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसकेको भन्दै राज्यमन्त्री रायमाझीले राजीनामा दिएपछि मुख्यमन्त्रीको पद पुनः अल्पमतमा परेको छ ।
यसअघि ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलसँग हाल ३८ सांसदको मात्र समर्थन रहेको छ । मुख्यमन्त्री पोखरेललाई समर्थन गरेका सांसदहरु अमर डाँगी, दृघनारायण पाण्डे र विमला वलीले यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् ।
ती सांसदहरुले मुख्यमन्त्री पोखरेललाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षीलाई बल पुगेको छ । सत्ता साझेदार माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरूद्ध वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गरेपछि पोखरेलले सोही दिन नै जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यलाई मन्त्री दिएर सरकारमा सहभागी गराएका थिए ।
विपक्षी गठबन्धनको अविश्वास प्रस्ताव दर्तापछि वैशाख १९ गते एकाएक राजीनामा दिएका पोखरेल सोही दिन नै दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिँदै जनता समाजवादी पार्टीका चारै जनालाई फेरि मन्त्री नियुक्त हुन सफल भएका थिए । लुम्बिनी प्रदेश सभामा ८३ जना सांसदमध्ये सरकार बनाउनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्दछ । तर, अब मुख्यमन्त्री पोखरेलसँग ३८ मात्र सांसदको समर्थन रहेको छ ।
हाल लुम्बिनी प्रदेश सभामा विपक्ष गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १८, जसपाका २, जनमोर्चाका १ गरी ४० सांसद रहेका छन् । शुक्रबार राजीनामा दिएकी रायमाझीले गठबन्धनमै बसे ४१ मत पुग्नेछ तर, बहुमतका लागि ४२ मत आवश्य पर्दछ । ८३ प्रदेशसभामध्ये एमालेसँग ३८ सांसदको समर्थन रहेको छ ।