२० असार, काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ ।
मनसुनजन्य घटनामा परी यो अवधिमा चार बालकसहित २४ पुरुष र तीन बालिकासहित १४ महिलाले ज्यान गुमाएका हुन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा र गोरखामा तीन/तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एकजनाको मृत्यु भएको हो ।
यो अवधिमा बाढी–पहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन् । तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा पाँच/पाँच, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा तीन/तीन, जुम्ला र गोरखामा दुई/दुई, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक/एकजना घाइते भएका हुन् ।
बाढी–पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये दुई बालकसहित १७ पुरुष र एक बालिकासहित सात महिला रहेका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एकजना बेपत्ता भएका हुन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।