
२० असार, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । अब सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली पनि हट्ने भएको छ ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार (असार २२) देखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
‘उपत्यकाको जोर बिजोर प्रणाली हटाउने, सबै किसिमका परीक्षा २५ जना नबढ्ने गरी भौतिक रुपमा दिन पाइने, सवै किसिमका पसल ६ बजेसम्म खोल्न पाइनेछ’, प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । तर, स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् । योसँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस