
२० असार, काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक सुविधा ल्याएको छ ।
ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो/अप्ठ्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधामार्फत बैंकका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्यूनतम् २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाइनेछ ।
यसले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेस गरेको दुई दिनमै यो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।
बैंकका डिजिटल तथा ईबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको जनाएको छ ।
अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने बैंकले जनाएको छ । यसअन्तर्गत अस्पतालको बिल सोझै बैंकसमक्ष पेस गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकले आफूले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिने जनाइएको छ ।