
२१ असार, काठमाडौं । सोमबार पनि सेयर बजारको परिसूचक नेप्से ओरालो लागेको छ । यस दिन ११.१६ अंकले बजार २८२३ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि खस्किएको छ । यस दिन जम्मा ४ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
समूहगत रुपमा हेर्दा ब्यापार र उत्पादन समूह यस दिन चम्किएका छन् । ब्यापार समूह १३२, उत्पादनत २३१ र अन्य समूह ८ अंकले बढेको छ । विशाल बजार र साल्ट ट्रेडिङ कम्पनीको मूल्य बढेकाले यस दिन व्यापार समूहमा उछाल आयो भने हिमालयन डिस्टिलरी र नेपाल ल्यूब आयलको मूल्य बढ्दा उत्पादन समूहमा ठूलो वृद्धि देखियो ।
बैंकिङ ७, होटल तथा पर्यटन ५९, विकास बैंक १०२, जलविद्युत ५३, फाइनान्स ५७, निर्जीवन बीमा १५६, माइक्रोफाइनान्स ३४ र जीवन बीमा १३६ अंकले घटेका छन् । यस दिन विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन डिस्टिलरीको मूल्य ८ प्रतिशतले बढेको छ ।
छ्याङ्दी हाइड्रोपावरको मूल्य ७ प्रतिशतले बढेर ४५७ रुपैयाँ कायम भएको छ । त्यस्तै सिइडिबी हाइड्रोपावरको मूल्य ५ प्रतिशतले बढेर ६५४ रुपैयाँ कायम भएको छ । राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ५ प्रतिशतले बढेको छ ।
यस दिन गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । त्यस्तै कर्णाली विकास बैंकको मूल्य ५ प्रतिशतले घटेको छ ।