मुख्य समाचार

कलाकारलाई मेयर शाक्यको जवाफ: सर्वोच्चको आदेश र महानगरको कानुन उल्लंघन नगर्नोस्

bidya sundar

२२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले बनाएको कानुन–नीति र सर्वोच्च अदालतको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

“हामी नीति बाहिर जानु हुन्न,” उनले भने, ‘‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लंघन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।” ‘कोभिड फ्रन्टलाइनर’हरुको सम्मानमा बनाइएका भित्तेचित्र ‘मेयरले मेटायो’ भनेर बढी नै प्रचार गरिएको उनको भनाइ थियो । ‘‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद,” उनले भने, ‘‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लंघन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।”

सर्वोच्च अदालतले २०७२ सालमा सहरका घर, पर्खाल, बिजुलीको पोललगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको थियो । ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्तेलेखन, पोस्टर, पम्पेटलगायत सामग्री हटाउन आदेश दिएको थियो ।

महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ । शाक्यले भने, ‘‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि, हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोेच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन, वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।”

उनले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पतालअगाडि, नेसनल ट्रेडिङलगायत स्थानका भित्तामा लेखिएका सामग्री हटाएको बताए । ‘‘नीति सबैका लागि बराबर हुन्छ,” उनले भने, ‘‘पहिलोपटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भइरहेको छ । त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिई बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।”

‘सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान’ 
मेयर शाक्यले स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, पत्रकार, कलाकारहरुको मनोबल उच्च बनाउन सहकार्य आवश्यक रहेको बताए । ‘‘निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान हुँदैन । उहाँहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ,” उनले भने, ‘‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोबल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ ।”

‘उमेदवार हुँदा हामी कसैले भित्तामा प्रचार गरेनौँ’ 
उनले आफूहरुले पनि चुनावको बेला भित्तामा प्रचार नगरेको बताए । “चुनावका बेला सबै राजनीतिक दलले आफूअनुकूल नारा लेखेर प्रचार गर्न सक्थे नि,” उनले भने, ‘‘उनीहरुले नीति बाहिर जानु हुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उमेदवार थिएँ नि । हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, काठमाडौं महानगरपालिकाकाको कानुन र नीतिविपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ । आफूखुसी जे–पायो, त्यही गर्दै जाने हो भने नाराको औचित्य नै समाप्त हुन्छ ।”

उनले शाक्यले आफू मेयर निर्वाचित भएपछि संघीय र प्रदेशसभाको निर्वाचनमा समेत सहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको जिकिर गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस