२२ असार, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधनहरू एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताउनुभयो । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधनहरू उपत्यकाका वरिपरी जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।
महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाबाट हराएका ४१३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । उक्त चोरी कार्यमा संलग्न ५१ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न वृत्तमा पठाइसकिएको महाशाखाले जनाएको छ ।