बागमती प्रदेश

कोभिड संक्रमण घटेपछि रसुवामा उत्पादन हुन थाल्यो चीज

chij udhyog

२४ असार, रसुवा । कोभिड सङ्क्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज केन्द्र पुनः सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रको लाङटाङ, गतलाङ, चन्दनबारी एवं धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र यही असार १ गतेबाट सञ्चालनमा ल्याएसँगै दुई हजार १२१ किलो चीज उत्पादन भएको छ ।

चीज उत्पादनको काम गत वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउनुपर्ने तयारी भए पनि कोरानाको असर एवं कोरोना सङ्क्रमणकै कारण धुन्चे केन्द्रका प्रमुख जीतबहादुर जिरेलको निधन र स्थानीय प्रशासनको जारी निषेधाज्ञाले गर्दा उत्पादन कार्य अगाडि बढाउन दुई महिना ढिलाइ भएको बताइएको छ ।

आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङटाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए ।

दुग्ध विकास संस्थान अन्तर्गत यहाँका चार चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने चौँरीगाईको सङ्ख्या एक हजार ९०० रहेको छ । दैनिकरूपमा दुई हजार १५० लिटर दूध सङ्कलन हुने गरेको चीज केन्द्रका प्रमुखले जानकारी दिएका छन् । धुञ्चे केन्द्रका नयाँ प्रमुख रामबरस ठाकुर, गतलाङका क्षेत्रबहादुर तामाङ एवं चन्दनबारी केन्द्रका गोविन्दबहादुर गुरूङ रहेका छन् । दूध आपूर्ति गरेवापत फ्याटको हिसाबमा प्रतिलिटर १०० पाउने र ८७ किसान लाभान्वित भइरहेको बताइन्छ ।

तीन महिना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले सात हजार केजी चीज र एक हजार पाँच सय किलो मख्खन, लाङ्टाङ केन्द्रले छ हजार किलो चीज र दुई हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

यसैगरी धुञ्चे केन्द्रले आठ हजार किलो चीज र दुई हजार ४०० किलो मख्खन उत्पादनको लक्ष्य लिएको छ । गतलाङ केन्द्रले भने लक्ष्यबेगर चीज तथा मख्खन उत्पादन गरिरहेको कार्यरत केन्द्र प्रमुख तामाङले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस