
२४ असार, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन् ।
तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३–३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २–२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला,अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना रहेका छन् । पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १–१ जना गरी जम्मा ७ जना रहेका छन् । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७१ जना घाइते भएका छन् ।
तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५–५ जना, धनुषा र सर्लाहीमा ४–४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३–३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २–२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १–१ जना रहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गरिएको र केहीको उपचार जारी रहेको जनाइएको छ ।
बाढीपहिरोमा परी २९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको प्रहरीको भनाइ छ ।