२५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागलाई हास्यास्पद भनेका हुन् ।
“हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,” माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।”
आज मात्रै नेकपा माओवादी केन्द्र खारेजीको माग गरेका पूर्व माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोग पुगेर छिट्टै निर्णय गर्न आग्रह गरेका छन् । बुधवार माओवादी केन्द्र अवैधानिक भन्दै उजुरी दर्ता गराएका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत आज आयोग पुगेका थिए । उनीहरुले आफूहरुले दर्ता गराएको निवेदनबारे छ्ट्टिै निर्णय गर्न आग्रह गरेका हुन् ।