समाचार

ताप्लेजुङको सुकेटार एयरपोर्ट आजदेखि सञ्चालनमा

nepal air taplejung

२६ असार, ताप्लेजुङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौंबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौं फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए ।

निगमले गत सोमबारदेखि नै नियमित उडान शुरु गरेको थियो । गत सोमबार काठमाडौंबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौं फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताए ।

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौं देखि ताप्लेजुङसम्म रु सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौं रु सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस