
२७ असार, बुटवल । गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन ।
अहिले विहान पनि दुई वटा दमकल घटना स्थल मै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार ग्लास हाउसको निकै महङ्गो मुल्य पर्ने फाइवर लगायत सबै जलेर नष्ट भएको छ । रातभर आगो नियन्त्रणका लागि रुपन्देही र छिमेकी जिल्लाको समेत जनशक्ति र श्रोत साधन प्रयोग गरियो ।
आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकल प्रयोग भएको छ भने सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागिता रहेको थियो । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकल आगो निभाउन प्रयोग गरिएको थियो ।
आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा निजहरुको सकुशल उद्धार गरिएको थियो । घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरी करिब ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए ।