२८ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो ।
आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो । जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन् । जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०।५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।