२८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा पुनःस्थापित गर्ने सर्वोच्च अदालतको फैसला पार्टीका लागि सरकार बनाउने अवसर मात्रै नभएर इतिहास निर्माण गर्ने अवसर भएको बताएका छन् ।
अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक भएको उनले बताए । फैसलाले एकसाथ महत्वपूर्ण तीनवटा सन्देश दिएको उनको भनाइ छ ।
“आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ । नेपाली कांग्रेस यसलाई स्वागत गर्दछ । यो फैसलाले एकसाथ महत्वपूर्ण तीनवटा सन्देश दिएको छ । एउटा सन्देश यदि कार्यपालिकाकाले संविधान र कानुनभन्दा बाहिर गएर कार्य गर्दछ भने हामीले संविधानमा नै व्यवस्था गरेको प्रबन्धबमोजिम संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा हाम्रो न्यायलयले त्यो कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको छ । र, संवैधानिक इजलास साँचो अर्थमा सम्मानित पुष्टि भएको छ । अर्को सन्देश, यसले राजनीतिक रुपमा पनि दिएको छ । संविधानले संसद्लाई जोगाउने राजनीतिक अधिकार सांसदलाई दिएको छ, त्यसको रक्षा र सुरक्षा पनि गरेको छ,” उनले भने ।