२९ असार, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो ।
नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको हो ।
योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमीटेड’ भएको छ ।
पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक (आईपीओ) समेत निष्कासन गर्ने भएको छ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्नेगरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।