२९ असार, काठमाडौं । नेपाल बंगलादेश बैंकको विदेशी साझेदार बंगलादेशको आईएफआईसी बैंक बाहिरिने भएको छ । आईएफआईसी बैंकले नेपाल बंगलादेशमा रहेको आफ्नै सबै सेयर स्वामित्व बेचेर बाहिरिन लागेको हो ।
आईएफआईसी बैंकको नेपाल बंगलादेश बैंकमा ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर रहेको छ । आईएफआईसी बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कुनै बोनस सेयर आउने भएमा सो समेत बिक्री गर्न जनाएको छ ।
उक्त सेयर खरिद गर्नको लागि पहिलो हक बैंकका संस्थापक सेयरधनी हुने भएकोले उक्त सेयर बिक्रीको लागि ३५ दिने सूचना प्रकाशित गर्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना बताउँछन् । संस्थापक सेयरधनीका तर्फबाट अहिलेसम्म भने कुुनै पनि लगानीकर्ताले चासो नदेखाएको तर ३५ दिने सूचना प्रकाशित भएपछि क–कसले इच्छा देखाउँछन् भन्न सकिने उनले बताए ।
बहालवाला संस्थापक सेयरधनीबाट उक्त सेयर खरिद नभएमा संस्थापक भन्दा बाहिर गएर उक्त सेयर बिक्री गर्ने उनले बताए । राष्ट्र बैंकको नीतिभित्र रहेर संस्थापक सेयरधनी र उसको एकाघर परिवारबाट १५ प्रतिशत ननाघ्ने गरि उक्त सेयर खरिद गर्नुपर्ने हुन्छ ।