३० असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुई/दुई नेतालाई सरकारमा सहभागी गराएका छन् । प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन् ।
देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै माओवादी केन्द्रका नेता शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
२०१७ सालमा स्याङ्जामा जन्मेका खाँण २०३३ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व सम्हाल्दै पार्टी राजनीतिमा सक्रिय खाँणले यसअघि सिँचाइ र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । कांग्रेस प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका खाँणले अहिले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै सन् १९५७ मा भोजपुरमा जन्मेका कार्की नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । २०३९ सालमा नेवि संघको अध्यक्ष बनेका कार्की सन्तनेता कृष्णप्रसाद भट्टराईका विश्वासपात्र थिए । यसअघि जलस्रोत र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कार्कीले अहिले कानुन मन्त्रालयको जिम्मा पाएका छन् ।
रुकुम पश्चिमबाट निर्वाचित शर्मा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा डेपुटी कमान्डरको जिम्मेवारी सम्हाल्दै खुला राजनीतिमा आएका हुन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित एकीकरण गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले यसअघि ऊर्जा, शान्ति, गृहसहितका मन्त्रालय सम्हालिसकेका छन् ।
यस्तै माओवादी स्थायी समिति सदस्य भुसाल अन्तरिम विधायकसहित तीनपटक सांसद भइसकेकी छिन् । सशस्त्र युद्धमा सक्रिय भुसालले महिला,बालबालिका तथा समाज कल्याण, सामान्य प्रशासन र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् । नवनियुक्त चारैजना मन्त्रीले मंगलबारै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिनुका साथै आआफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।