
३० असार, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । दुई वा दुई भन्दा बढी प्रदेशमा संचालन हुने सार्वजनिक यातायातका साधनहरुको भाडा २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको जनाईएको छ । निर्णय अनुसार लामोदुरीमा चल्ने अर्थात राष्ट्रियस्तरका सार्वजनिक रूटमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढेको हो । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर २० प्रतिशत तथा तराईमा चल्ने मालबाहक सवारीको भाडा २६ प्रतिशतले बढेको छ । विभागका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू भएको छ ।
विगत २०७२ सालदेखि सवारी भाडा यथावत रहेको तर फ्युल (इन्धन)सँगै गाडीको पाटपुर्जा, टायर लुब्रिकेन्ट तथा महँगी समेत बढेकाले सो कुरालाई ध्यानमा राखि मूल्य समायोजन गरिएको विभागले जनाएको छ । यातायात व्यवस्था ऐन, २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले लिएको अधिकार प्रयोग गरी उक्त भाडा समायोजन गरिएको समेत विभागले सूचना मार्फत जानकारी दिएको छ ।