३१ असार, काठमाडौं । चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाही नौ वर्षदेखि कलेजो रोगबाट पीडित भई उपचार सम्भव नभएपछि प्रत्यारोपणको प्रतीक्षामा बसेका थिए ।
शाहीमा यही असार १८ गते झन्डै १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ । शाहीकी श्रीमती ४८ वर्षीया कमलादेवी शाहीले कलेजो प्रदान गरेकी थिइन् । यसअघिको कलेजो प्रत्यारोपणभन्दा योपटक ‘कम्लिकेटेड’ प्रत्यारोपण गरिएको अस्पतालको दाबी छ । आज अस्पतालमा पत्रकार सम्मलेन गरी सोबारे जानकारी दिइएको हो ।
उक्त कार्यमा कलेजका विशेषज्ञ चिकित्सक डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्तकुमार शाह, डा. सागर पौडेल, डा. वरुण श्रेष्ठ र डा. किरण अधिकारीसहित झन्डै दुई दर्जन विशेषज्ञ, चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम संलग्न थियो । प्रत्यारोपणमा भारतका चिकित्सकको टिमसमेत सघाएको थियो ।
पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले नेपालमै पहिलोपटक कम्लिकेटेड कलेजो प्रत्यारोपण गरिएको दाबी गरे । “यो एक प्रकारको कम्लिकेटेड कलेजो प्रत्यारोपण हो,” उनले भने, “योपटक पीभीटी (कलेजोमा जाने रगतको नलीमा रगत प्रवाह अवरुद्ध हुने) भएकोे बिरामीमा ट्रान्सप्लान्ट गरेका हौँ । नेपालमा हालसम्म कतै गरिएको रेकर्ड छैन ।”
उनका अनुसार यो शल्यक्रिया गर्न थप जोखिम र चुनौती हुन्छ । शाहीको अवस्था राम्रो हुँदै गइरहेको जनाइएको छ । “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई डिस्चार्ज गर्न सकिने अवस्था छ,” उपचारमा संलग्न चिकित्सक डा. सञ्जय यादवले भने । शाहीकी श्रीमती भने डिस्चार्ज भइसकेकी छन् ।
दुईदेखि तीन महिनामा शाही दम्पती दुवैजनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउने चिकित्सकले बताए । यो प्रत्यारोपण गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने देवकोटाले जानकारी दिए ।