५ साउन, सप्तरी । सप्तरीमा सबैभन्दा पुरानो नहर भत्किदा ५ सयभन्दा बढी घर डुबानमा परेको छ भने जनजीवन समेत प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित चन्द्र नहर भत्काएको हो ।
अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी बताए । उनका अनुसार दुई ठाउँमा गरी झण्डै ५० मिटर नहर भत्किएको छ ।
बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन् । यस्तै, बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ ।
गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका झण्डै २ सय ७५ घर डुबेका छन् । तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् ।
निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । यस्तै, सप्तकोशी, त्रियुगा, महुली, खाँडौ, बलानलगायत नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।