८ साउन, सिन्धुपाल्चोक । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो ।
त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारले जनाएका छन् । गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिश्मा मानन्धरलगायत कलाकारको टोलीले मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेकोे करिश्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहित घरवास बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।