
८ साउन, काठमाडौं । ‘वर्किङ भिसा’मा अमेरिका पठाउने भन्दै ७४ लाख ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले कास्की, पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विकास भनेर चिनिने २४ वर्षीय बिनोद भुसाल, ३१ वर्षीय पुकार गुरुङ र ३० वर्षीय प्रकाश गुरुङ छन् । विनोद भुसालले दुई वर्षदेखि पुकार गुरूङ, प्रकाश गुरूङलगायत व्यक्तिको खातामा पटक–पटक गरी ७४ लाख नौ हजार पाच सय रकम जम्मा गरेको पाइएको छ । पीडितले व्युरोमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरी अनुसन्धानबाट बिनोद भुसालले संयुक्त राज्य अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैयाँ ठगी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको पाइएको छ ।
पीडितलाई अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषी फर्ममा वर्किङ भिसा दिलाउँछु भनेर प्रलोभन देखाइ काठमाण्डौंमा रहेका बिनोद भुसालसँग सम्पर्क गरी भनेको र विनोद भुषालले विभिन्न व्यक्तिहरुको खातामा रकम समेत जम्मा गर्न लगाइ ठगी गरेको महतोको भनाइ छ । उनीहरुले अमेरिकन एम्बेसी, काठमाडौँको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रहरीको भनाइ छ ।