खानपान

खाना खाने अनेक शैली : संस्कृतिबाट निर्देशित कि खानाको प्रकृतिबाट ?

food culture

९ साउन, काठमाडौं । प्रागैतिहासिक कालदेखि हाम्रो संरक्षण र प्रगतिको आवश्यकताले धेरै नयाँ उपकरणहरूको सिर्जना भएको छ । खाना पकाउने भाँडाकुँडादेखि खाना खानेसम्मका सबैखाले संस्कारहरू प्राग ऐतिहासिक कालदेखि नै चल्दै आएको चलन हो । अहिले विश्वका विभिन्न ठाउँमा चलनमा रहेको पाककला शताब्दीयौंसम्मको अथक प्रयासपछि विकसित गरिएको एउटा सांस्कृतिक सम्पदा हो । प्रत्येक जातीय समूहले खानामा पूर्ण सन्तुष्टिप्राप्त गर्नको लागि खानाको परिकार अनुसार खाद्य शैलीसमेत अँगाल्ने गर्छन् ।

कटलरी शब्दले काँटा, चक्कु र चम्चा जस्ता आधुनिक उपकरणको प्रतिनिधित्व गर्छ । यी सबैले कुनै न कुनै सं‌स्कृतिको प्रतिनिधित्व गर्छन् । चम्चा पनि एउटा पुरानो खानाको औजार हो । जुन मानव इतिहासको प्रारम्भिक युगमा बनेको बताइन्छ । धेरै प्राचीन सभ्यताहरूले आफ्नै विशिष्ट डिजाइनमा यसको प्रयोग गर्ने गर्दथे । प्राचीन ग्रीकहरूले समुद्री कवचहरू, रोमनहरूले काठको र पुरातन इजिप्टियन फारोनहरूले सुनौलो र चाँदीका चम्चाहरू प्रयोग गर्थे । युरोपमा मध्ययुगको आगमनसँगै काठ र धातुका चम्मचहरू सामान्य भए र त्यसबेलादेखि तिनीहरू आधुनिक खाने भाँडाका अभिन्न अंग भए । तर अहिले भूगोल र खानाको संस्कार अनुसार यसको प्रयोग फरक हुँदै गए ।

हामी कल्पना गर्न सक्छौं चम्चा, काँटा वा चक्कुको प्रयोग गरेर ठूलाठूला आकारमा काटिएको मासु खान सकिन्छ होला त ? पक्कै सकिँदैन यसको लागि हामीले हातले समातेर नै टोक्नुपर्छ । तर रसदार खाना ? यसलाई हातले खान सम्भव हुँदैन। यसको लागि चम्चाको आवश्यकता पर्छ । हाम्रो परम्परागत संस्कार नहुँदा नहुँदै पनि चाउमिन खाँदा काँटाको प्रयोग र सामान्यतया अरू खाजा खाँदा चम्चाको प्रयोग काठमाडौंमा सामान्य भइसकेको छ । साथै, खाना खाने बेलामा चम्चाले खाने र हातले खानै दुवै चलन नेपालमा जारी छ । नेपालमा हातले खाना खान बच्चैदेखि सिकाउने गरिन्छ । तर चीन, कोरिया, जापान र भियतनाममा धेरै बच्चाको लागि पहिलो खानाको सिकाइ नै सिन्काबाट सुरु हुन्छ । सिन्काबाट खाना खान सिकाउने क्षेत्रमा हातले खाने खानालाई असभ्यताको रूपमा लिइन्छ भने हातले खाना खाने संस्कार रहेको क्षेत्रमा यसैको महत्व धेरै देखिन्छ ।

यसबाहेक अन्य अनेक खाद्य औजार रहेको पाइन्छ । जुन परम्परागत उपकरण समेत हुन् । चोपस्टिक्स चीनको खाद्य उपकरण हो । यो चीनबाट उत्पन्न भएको भए पनि यसले विश्वका धेरै मुलुकमा चर्चा पाइसकेको छ । अहिले यो उपकरण बढी जापान, कोरिया र भियतनाम जस्ता देशमा प्रचलनमा आउने गर्छन् । त्यस्तै, अहिले हामीले प्रयोग गर्ने काँटा आकारको उपकरण पुरातात्विक उत्खनन्बाट इसापूर्व २४०० देखि १९०० इपूसम्म चलेको मानिने काँस युगसम्म भेटिएको छ । यो त्यतिबेला चिनियाँ शाङ शासकको समयमा रहेको क्विजा संस्कृतिमा भेटिएको हो । सामान्यतया पश्चिमी मुलुकहरूमा सामान्यतया चक्कु, काँटा र चम्चा अनिवार्य पाइन्छ ।

यद्यपि हातले खाना खाने संस्कार भारतवर्षबाहेक अफ्रिका र मध्यपूर्वमा देखिन्छ । भारतवर्षमा एकाधबाहेक धेरैले दायाँ हातले नै भात खाने गर्छन् । अफ्रिकामा दक्षिण एसियाको समान नियम रहेको छ । दुई कचौरा पानी तपाईंको थालसँगै राखिन्छ । यसको अर्थ एक कचौरा खाना खानु अघि हात धुनको लागि र अर्को खाना खाइसकेपछि हात धुनको लागि । त्यस्तै मध्य-पूर्वमा पनि यस्तै खाले संस्कार पाइन्छ । हातले खाना खाने संस्कार एउटा लामो सभ्यताको साक्षी हो ।

हातले खानाखानुको पछि के छन् फाइदा ?

१. हातले खाना खाने विषयमा आयुर्वेदको मत

खाना भनेको संवेदनादायी अनुभव हो जसले भावना र जोश जगाउन काम गर्छ । वेदका अनुसार हातहरू काम गर्ने सबैभन्दा मूल्यवान अंग हो । धर्मशास्त्रले कसरी प्रत्येक औंलाले पाँच तत्वहरूको प्रतीकको रूपमा कार्य गर्छ भनेर व्याख्या गर्ने गर्छन् । औंलाहरूमध्ये प्रत्येकले पृथ्वी जल तेज वायु र आकाशको प्रतिनिधित्व गर्ने गर्छ । हाम्रा औंलाहरूको नसाले स्नायु प्रणालीसँग प्रत्यक्ष जोडिएको हुन्छ । हामीले खाना खाँदा त्यसको सञ्चार सिधै स्नायु प्रणालीसम्म पुग्ने हुँदा पाचन प्रणाालीमा यसले सहयोग गर्छ भन्ने आयुर्वेदको मत छ ।

२. जीवशास्त्रीय मत

जीवशास्त्रीय रूपमा भन्नुपर्दा हाम्रा हातहरू बहु-टास्क युक्त हुन्छन् । हात कुनै कुरा टिप्न, स्क्र्याच गर्न, महसुस गर्न, छुन, यसलाई पञ्जा आकारमा बनाउन र साना सामान वा ठूला सामानहरू लिन र त्यसलाई मुखसम्म लगेर छाड्न पनि सक्षम किसिमको बनाइएको छ । यही सबै टास्क चम्चा वा अरू साधनले पूरा गर्न सक्दैनन् ।

३. हातले खाना खानु एक व्यायाम पनि
हातले खाने खानाले शरीरमा रगत सर्कुलेसन बढाउँछ किनकि यो एक मांसपेशीगत व्यायाम पनि हो ।

यसरी खानाको संस्कारलाई खानाको प्रकृतिले पनि निर्धारण गर्ने गर्छ । एसियाको पश्चिमी क्षेत्रमा धेरैले रोटी खान्छन् त्यसैले उनीहरूमा हातले खाना खाने संस्कार बसेको हुन सक्छ । महाद्वीपको पूर्वी क्षेत्रहरूमा धानको उपभोग धेरै हुन्छ । पश्चिमी भारतमा गहुँको उपभोग धेरै हुन्छ भने उत्तरतर्फ रहेको नेपालमा धानको नै उपभोग धेरै हुन्छ । समग्रमा भन्दा धान र गहुँ पूर्व र पश्चिम एशियाका मुख्य खाद्यान्नहरू हुन् । एसियाका परम्परागत आहारहरू केही यस्ता पनि छन् जुन यहाँभन्दा बाहिर धेरै उत्पादन हुने खालका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस