विश्व/प्रवास

अफगानिस्तानमा हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु, १७ घाइते

afghanistan iran

९ साउन, काबुल । सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबैजना तालिबान लडाकुहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् ।

घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए ।

त्यसैगरी, हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारीसाधनहरु, बंकर, विस्फोटक पदार्थलगायत लडाकुहरुले प्रयोग गर्ने गरेको सामग्रीहरु पनि बरामद गरेका छन् ।

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहे पनि टुंगिन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । रासस/एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस