विश्व/प्रवास

कुख्यात अमेरिकी ‘सिरियल किलर’ को निधन

rodney alcala

१० साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा १२ वर्षीया बालिकाको साथै अन्य चार महिलाको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय पाएका एक कुख्यात सिरियल किलरको निधन भएको छ । ७७ वर्षीय रोड्नी अल्कालाको क्यालिफोर्निया स्टेट प्रिजन नजिकै रहेको एक अस्पतालमा उपचारको क्रममा शनिबार बिहान निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अमेरिकाको एक टिभी शोमा भाग लिएका कारण ‘डेटिङ गेम किलर’ भनेर पनि चिनिने अल्कालालाई सन् २०१० मा सजाय सुनाइएको थियो । क्यालिफोर्नियाका साथै न्यूयोर्कमा पनि उनले अन्य दुई जना महिलाको हत्या गरेको स्वीकार गरेका थिए ।

अल्कालालाई सन् १९८० मा १२ वर्षीया रोबिन सामसोइको अपहरण र हत्याको आरोपमा पहिलोपटक मृत्यु दण्डको सजाय सुनाइएको थियो । तर, क्यालिफोर्नियाको सर्वोच्च अदालतले उक्त फैसलालाई उल्टाउँदै नयाँ सुनुवाइ सुरु गरेको थियो । उनले दोस्रो सुनुवाइमा पनि सोही सजाय पाए । तर, सन् २००३ मा फेरि त्यो उल्टिएको थियो ।

त्यसपछिको अनुसन्धानमा क्यालिफोर्नियामा अल्कालाले थप महिलाहरूको हत्या गरेको खुलासा भएको थियो । सन् २०१० को सुनुवाइमा अल्कालाले सामसोइसहित सन् १९७७ देखि १९७९ को बीचमा १८ देखि ३२ वर्ष उमेरका थप चार जना महिलाको हत्या गरेको अभियोग लगाइएको थियो । सन् १९७८ मा अल्कालाले अमेरिकी टेलिभिजनमा द डेटिङ गेममा पनि भाग लिएका थिए ।

सन् २०१२ मा उनीमाथि न्यूयोर्कमा थप २ जना महिलाको हत्या गरेको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस