
१० साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।
आज अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रमा उनले पार्टीले क्षमा गर्ने भन्दै फर्किन आग्रह गरे । “पार्टीले क्षमा गर्छ । साथीहरु गल्ती नगर्नुस् । पार्टीमा फर्किनुस्,” ओलीले भने ।
केही व्यक्तिहरु प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने काममा लागिपरेको आरोप उनले लगाए । “केही व्यक्तिहरु आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर, पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भएको हामीले देखिरहेका छौँ । प्रतिक्रियावादीसँग मिलेर सरकार ढालिरहेको देखेका छौँ । आफ्नो पार्टी फुटाएर सजिलो बनाएको देखिरहेका छौँ । आफ्ना सांसदलाई झुक्याएर वा प्रलोभनमा पारेर बाहिर लगेको देखिरहेका छौँ,” उनले भने ।