१० साउन, काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म ‘फुडमाण्डु’ र मोबाइल वालेट ‘इसेवा’बीच सहकार्य भएको छ । अब फुडमाण्डुका प्रयोगकर्ताहरूले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् ।
यो सम्झौतासँगै इसेवाका प्रयोगकर्ताले थप सुविधा पाउनेछन् भने फुडमाण्डुका प्रयोगकर्ताहरूले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्डुमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरूको रुची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्रान्ड, सेल्स एन्ड मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताए ।
“हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ । यसले अब ग्राहकहरूलाई सजिलो तरिकाले खान कुरा अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ । इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरूले सजिलै फुडमाण्डुबाट खानेकुरा अर्डर गर्न सक्नेछन्,” उनले भने ।
सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरूलाई सजिलो हुने बताइएको छ । इसेवाका बिजिनेस डिभेलपमेन्ट प्रमुख अशिष प्रशाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीलाई घरबाटै भुक्तानी गर्न सहज भएको बताए । “कोरोना भाइरसको महामारीमा मानिसहरूले घरबाटै विभिन्न अर्डरहरूको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्कभएको इसेवा जोडिन पाउँदा खुसी भएका छौँ,” उनले भने ।
फुडमाण्डुले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरूलाई पहिलो अर्डरमा २० प्रतिशत वा तीन सयसम्मको छुट दिने घोषणा गरेको छ ।