१२ साउन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोगका लागि अमेरिका सरकारलाई धन्यवाद थिए ।
उनले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
राजदूत बेरीले कोभिड विरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए ।